सर्वोच्च अदालतमा ५८.८२ प्रतिशत मुद्दा फर्स्योट
काठमाडौं । सर्वोच्च अदालतमा गत वर्ष ५८.८२ प्रतिशत मुद्दा फर्स्योट गरिएको छ । सर्वोच्च र मातहत अदालतहरूमा गत वर्षबाट जिम्मेवारी सरेको १ लाख ४४ हजार ५२७ समेत गरी कूल ४ लाख ५ हजार ६९ मुद्दामध्ये २ लाख ३८ हजार २६९ मुद्दा फर्स्योट गरिएको हो ।
अझै पनि १ लाख ६६ हजार ८०० बाँकी रहेको छ । महालेखापरीक्षकको ६० औँ वार्षिक प्रतिवेदन २०७९ का अनुसार, सर्वोच्चबाट प्राप्त विवरणअनुसार २०६५/०६६ देखि २०७६/७७ सम्म सर्वोच्च अदालतमा मात्र २ वर्ष नाघेका मुद्दा, रिट निवेदनर प्रतिवेदनको संख्या १७ हजार २०९ रहेको छ ।
अदालतले बक्यौता मुद्दा न्यूनीकरण कार्ययोजना बनाई पुराना मुद्दा फर्स्योटलाई प्राथमिकता दिई २ वर्षमा फर्स्योट गर्ने लक्ष्य राखे पनि लामो समयसम्म फर्स्योट हुन नसकेको अवस्था देखिएको प्रतिवेदनमा औँल्याइएको छ ।
यता सर्वोच्च अदालतको वार्षिक प्रतिवेदनअनुसार २०७८–७९ सम्म अदालतबाट भएका फैसलाबमोजिम वर्षान्तसम्म भुक्तान हुनुपर्ने बाँकी कैदको कूल लगत १ लाख ७ हजार १६८ वर्ष ६ महिना २७ दिन रहेको र असुल उपर हुनुपर्ने जरिबाना १७ अर्ब ७४ करोड ८१ लाख रुपैयाँ बक्यौता रहेको छ ।
फैसला कार्यान्वयनको लागि जिल्ला अदालतहरूमा निवेदनको लगत ४५ हजार ४६५ रहेकोमा २१ हजार ३१९ (४६.८९ प्रतिशत) मात्र फर्स्योट भई २४ हजार १४६ बाँकी रहेका छन् ।
