नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाशको बयान
२०८० बैशाख २, शनिबार १५:३५
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनलाई नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाश पुन मगरले बयान दिएका छन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालमा सोधपुछ गर्ने क्रममा उनले गल्तीले गोली चलेको बताएको नेपाल प्रहरीका एक उच्च अधिकृतले जानकारी दिए ।
शुक्रबार नयाँ वर्षको अवसरमा बालुवाटारस्थित तीर्थमाली बस्ने घरमा पारिवारिक जमघट थियो । त्यस क्रममा राति साढे ९ बजे घरमा गोली चलेको थियो ।
कामु प्रधानन्यायाधीशको निजी सुरक्षा टोलीका सदस्य प्रहरी हवल्दार प्रकाश पुन मगरले गोली चलाएका थिए ।
प्रहरीका अनुसार, मादक पदार्थ सेवन गरेका उनको पेस्तोलबाट एक्कासी गोली तीर्थमालीको खुट्टामा लागेको थियो । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।
