मकवानपुरको दुई घरमा आगलागी, साढे ३५ लाखको क्षति
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्वर ७ चल्तीस्थित थाक्लेमा गएराति दुई घरमा आगलागी भएको छ । गएराति ११ः४० बजेको समयमा स्थानीय ५५ वर्षीय कृष्णबहादुर खत्री र ४० वर्षीय राज कुमार खत्रीको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, कृष्णबहादुर र राजकुमार दाजुभाई हुन् । बिजुलीको तार सट भई कृष्णबहादुरको पुरानो डिजाईनको ढुङ्गा माटोले बनेको २ (दुई) तले कच्चि घरमा आगलागी भएको र सोही आगो बढ्न गई संगै जोडिएकको राजकुमारको घरमा पनि आगलागी भएको हो ।
आगो ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी नायव निरीक्षक उमेश प्रसाद कोईरीको कमाण्डमा टोली खटी गई दमकल र प्रहरीको सहयोगमा आज बिहान साढे २ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
आगलागीबाट घर पूर्ण रुपमा क्षति हुनुका साथै अन्नपात, भाडाकुडा जलेर नष्ट हुँदा कृष्णबहादुरकमो चार लाख रुपैयाँ नगदसहित १९ लाख रुपैयाँ र राजकुमारको १ लाख ५० हजार रुपैयाँ नगदसहित १६ लाख ५० हजार रुपैयाँको क्षति भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
आगोलागीमा परेर मानवीय क्षति भने भएको छैन ।
