मकवानपुरमा बुस्टर डोज खोप लगाउने जिम्मा स्वास्थ्य कार्यालय र हेटौंडा अस्पताललाई

तु खबर संवाददाता
२०७९ चैत्र २४, शुक्रबार १९:३४

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा शुक्रबार दिउँसो बसेको स्वास्थ्यसँग सम्बन्धित, सरोकारवाला निकाय र सुरक्षा निकायबीच सर्वदलीय बैठकले कोभिड–१९ विरुद्ध बुस्टर डोज खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालय र हेटौंडा अस्पताललाई जिम्मा दिने निर्णय गरेको छ ।

बैठकले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम तथा निणन्त्रण गर्न जचेतनामूलक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा बसेको बैठकले जिल्लामा नयाँ कोरोना संक्रमित फैलिन नदिन स्थानीय तहका निकायहरुले प्रत्येक टोलको घरदैलोमा जनचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकले कोभिड–१९ को नयाँ भिरियन्टबाट सतर्कता अपनाउन जिल्लाको गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका वडाहरुबाट सेवा लिन आउने सर्वसाधारणहरुलाई मास्क र सेनिटाइजर प्रयोग अनिर्वाय गर्न लगाई छिटोछरितो ढंगबाट सेवा प्रवाह गर्न सर्वसहमतिबाट निर्णय गरेको छ ।

साथै उक्त बैठकले जिल्लामा संचालन हुने विभिन्न गोष्ठी, समारोह एवम् अन्रतक्रिया कार्यक्रमलाई कोभिड–१९ नियन्त्रण तथा रोकथामको लागि सावधान अपनाएर कार्यक्रम गर्न निर्देशन दिएको छ ।

सर्वपक्षीय बैठकमा नेपाली सेनाको उच्च अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरीका उच्च पदाधिकारीहरु, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख र स्थानीय निकायका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।