एकल महिलाबाट बच्चाको जन्मदर्ताबारे सर्कुलर जारी
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको र बाबुको ठेगान नभएको बच्चाको जन्मदर्ताबारे सर्कुलर जारी गरेको छ ।
बुधबार विभागका निर्देशक नवराज जैशीले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुलाई बोधार्थ दिँदै दुई बुँदे सर्कुलर जारी गरेका हुन् ।
जारी सर्कुलर अनुसार, कुनै महिलाको विवाह अघि जन्मेको तर, पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानासँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको ठेगानामा जन्मदर्ता गर्न भनेको छ ।
हेर्नुहोस् जारी सर्कुरल ।
१.विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चा सहित पतिको ठेगानमा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने ।
२.विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिने ।
३. प्रकरण नं. (१) र (२) अनुसार बच्चाको जन्म दर्ता भईसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्म दर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानावाट नयाँ जन्म दर्ता गरिदिने ।
४. प्रकरण नं. (१) र (२) वाहेक अन्य अवस्थामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली ९संशोधन सहित०, २०७७ र विभागको यस अघिका परिपत्रअनुसार गर्ने ।
