भालुको आक्रमणबाट मकवानपुरका राई घाइते
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ पर्तापुरस्थित राष्टिय निकुन्ज बफरजँङको जंगलमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् ।
घाइते हुनेमा मनहरी–६ बस्ने ४३ को बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, जंगलमा गाँउका गाई भैँसीहरुलाई चराउनको लागि पठाईएको थियो ।
शनिबार साँझ ६ः१५ बजेसम्म पनि २÷३ वटा भँैसीहरु नफर्किएपछि खोजी गर्न बल बहादुर र स्थानीय ३५ को जय राई ८ः४५ बजेको समयमा जंगल गएका थिए । सोही क्रममा बलबहादुरलाई जंगली भालुले आक्रमण गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
भालुको आक्रमणबाट बलबहादुरको टाउको र हातमा टोकी घाउ चोट लागेको छ । भालुको आक्रमणबाट मध्यम घाइते भएका उनको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
