हेटौंडाको मोडेल अस्पतालमा अनुगमन

तु खबर संवाददाता
२०७९ चैत्र १५,बुधबार ०९:२४

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित मोडेल अस्पतालमा अनुगमन गरिएको छ । प्रशासनको नेतृत्वमा विषयगत कार्यालयका प्रतिनिधिहरु सम्मिलित टोलीले मंगलबार अस्पतालको अनुगमन गरेको हो ।

उक्त टोलीले अस्पतालको प्रयोगशाला, फिजियोथेरापी, इमर्जेन्सी, शल्यक्रिया थियटर, उच्च संवेदनशील कक्ष, आइसीयु, जनरल वार्डमा अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा निजी स्वास्थ संस्था एकीकृत अनुगमन चेक लिस्टमा भएअनुसार महिला र पुरुषलाई छुट्टै शौचालय, नार्कोटिन औषधि बिक्री गर्ने व्यवस्था, कम्तीमा १० प्रतिशत विपन्नलाई निःशुल्क उपचारको योजना, सूचना अधिकारीको व्यवस्था, सेवासँग सम्बन्धित ऐन नियमावली, ऐम्बुलेन्सको व्यवस्था नरहेको पाइएको जिप्रका मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले जानकारी दिए ।

त्यस्तै, फार्मेसीको प्रमाणपत्र सच्याउनुपर्ने, म्याद सकिएको औषधी फिर्ता गर्नुपर्ने, सी ग्रडेको ल्याबमा प्रयोगशाला संचालन गर्दा नियमबमोजिम न्यूनतम जनशक्ति राख्नुपर्ने, प्रयोगशाला शाखामा फोहोर व्यवस्थापन गर्नुपर्ने, रेफ्रिरजेरेट्र टेम्प्रेचर चेक लिस्ट राख्ने, हट एयर मिटर राख्ने, अटोमेटिक मेशिन संचालनका लागि एसी २४ घण्टा नियमित संचालन गर्नुपर्ने जस्ता व्यवस्था नरहेको पाइएको र अनुगमन टोलीले ती अस्पताललाई सबै व्यवस्थाहरु सच्याउनु निर्देशन दिएको छ ।

प्रशासनले केही दिन अघि मकवानपुर सहकारी अस्पताल, सिटी अस्पताल र सन्चो अस्पतालको अनुगमन गरेको थियो ।