बन्दुकको छर्रा लागेर गुरुङको मृत्यु

तु खबर संवाददाता
२०७९ चैत्र १४,मंगलवार १६:४३
सांकेतिक तस्वीर

फुङ्लिङ । ताप्लेजुङमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङ रहेका छन् ।

५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रहरीका अनुसार, सोमबार राति करिब १० बजे कालिदह जङ्गलमा उनीहरु सिकारका लागि गएका थिए । सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर ललितको मृत्यु भएको हो । घटनालगत्तै हाङपाङ प्रहरी चौकीको टोलीले वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।