बागमतीमा साढे ८ हजारभन्दा बढी क्षयरोगका बिरामी

तु खबर संवाददाता
२०७९ चैत्र १३,सोमबार १०:३१

मकवानपुर । बागमती प्रदेशमा साढे ८ हजारभन्दा बढीमा क्षयरोगका बिरामी रहेका छन् । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार, प्रदेशमा क्षयरोग लागेका रोगी पत्ता लगाउने कार्यमा आर्थिक वर्ष २०७८/०७९ मा ८ हजार ७५२ जनामा उक्त रोग देखा परेको हो ।

प्रदेशमा सबैभन्दा धेरै क्षयरोग देखा पर्नेमा काठमाडौं जिल्ला रहेको छ । त्यहाँ ३ हजार ६७३ जनामा क्षयरोग देखा परेको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्सन जीतेन्द्र कुमार कर्णले जानकारी दिए ।

यस्तै, प्रदेशको सबैभन्दा कम क्षयरोग देखा पर्नेमा रसुवा जिल्ला रहेका छन् । त्यहाँ ४० जनामा क्षयरोग देखा परेको क्षयरोग फोकल पर्सन कर्णले बताए ।

यसैगरी, प्रदेशको दोलखामा ६२ जना, सिन्धुपाल्चोकमा २३५ जना, धादिङमा ३०० जना, नुवाकोटमा २१७ जना, भक्तपुरमा ६५८ जना, ललितपुरमा ९०१ जना, काभ्रेमा ३०० जना, रामेछापमा ११५ जना, सिन्धुलीमा ३७४ जना, मकवानपुरमा ६८० जना र चितवनमा १ हजार १९७ जनामा क्षयरोग देखा परेको हो ।

कर्णका अनुसार, बागमती प्रदेशमा मकवानपुरसहित ४ वटा स्थानीय तहले क्षयरोग मुक्त तह बनाउन सफल भएका छन् । जसमा मकवानपुरको थाहा नगरपालिका, काठमाडौंको शंकरापुर नगरपालिका, भक्तपुरको चागुँनारायण नगरपालिका र काभ्रेको धुलिखेल नगरपालिका रहेका छन् ।