एकीकृत समाजवादीले मन्त्रीका लागि मापदण्ड बनाउने

तु खबर संवाददाता
२०७९ चैत्र १२, आईतवार १५:२८

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्रीका लागि मापदण्ड बनाउने भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको तीन सदस्यीय कार्यदलमा भएको प्रारम्भिक छलफलमा यसअघि मन्त्री र मुख्यमन्त्री भएकाहरूलाई यो पटक सकभर मन्त्री नबनाउने गरी छलफल भएको स्रोतले बताएको छ ।

चैत्र ७ गते बसेको सो पार्टीको सचिवालय बैठकले सरकारमा सहभागिताबारे सबै निर्णय गर्न अध्यक्ष नेपालको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य छन् ।

महासचिव भुसालले सरकारमा सहभागी हुने मन्त्रीका लागि निश्चित मापदण्ड बनाउने तयारी भएको भन्दै यसअघि अवसर नपाएका तर, जनताको काम गर्न सक्नेलाई प्राथमिकता दिने तयारी भएको बताए ।

नेकपा एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारमा तीन मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ । त्यसमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक भएको एकीकृत समाजवादीका नेताहरूको भनाइ छ ।