बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत

तु खबर संवाददाता
२०७९ चैत्र १०, शुक्रबार १५:४८
file-photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन् । शुक्रबार अपराह्न बसेको प्रदेश सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा प्रदेश सभाका ९१ जना सदस्य उपस्थित थिए ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकका अनुसार, मुख्यमन्त्री जम्मकट्टेलले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६७ मत परेको थियो ।

यस्तै, विपक्षमा १६ र तटस्थमा ७ जनाले मतदान गरेका थिए । मुख्यमन्त्री जम्मकट्टेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टी गरी ४ वटा दलका सांसदहरुले समर्थन गरेका थिए ।

प्रदेशसभामा ११० जना सांसद रहेका छन् । जसमा कांग्रेसका ३७, नेकपा एमालेका २७, माओवादीका २७, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् । सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मको लागि प्रदेश सभा बैठक स्थगित भएको घोषणा गरे ।