हेटौंडा सिमेन्ट उद्योगमा प्रयोग हुने क्लिङ्कर उत्पादन बन्द

तु खबर संवाददाता
२०७९ चैत्र ९,बिहीबार १५:५४
file-photo

मकवानपुर । सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग आजदेखि बन्द भएको छ । सिमेन्ट उत्पादनको लागि आगो बाल्ने भट्टिमा प्रयोग हुने क्लिङ्करमा समस्या देखिएपछि आज उत्पादन कार्य बन्द गरेको उद्योगका नायब महाप्रबन्धक एवम् प्रवक्ता नवीनकुमार कर्णले जानकारी दिए ।

करिब एक हप्ताभित्रै आगो बाल्ने भट्टिमा जडान गरिएको उपकरण (क्लिङ्कर) को मर्मत सम्हार गरेर पुनः उत्पादन कार्य सुरु गर्ने लक्ष्य रहेको प्रवक्ता कर्णले बताए ।

उनका अनुसार, उद्योग व्यवस्थापनले बोलपत्र आह्वानमार्फत बाह्ेय मुलुकबाट गुणस्तरीय कोइला ल्याउने कार्य भइरहेको छ । अहिले हेटौंडा सिमेन्ट उद्योगको भण्डारणमा रहेको गुणस्तरीय सिमेन्टहरुको प्याकिङ गर्ने कार्यलाई तीब्रता दिइएको छ ।

उक्त प्याकिङ गरेको सिमेन्टहरु हेटौंडा, काठमाडौं, पोखरा, भैरवा, विराटनगरलगायत विभिन्न शहरहरुमा सिमेन्टको आपूर्ति गरिरहेको सो उद्योगका प्रवक्ता कर्णले बताए ।

उद्योगमा दैनिक ११० टन कोइला खपत हुने गरेको छ । उद्योगबाट दैनिक १२ देखि १४ हजार बोरा गुणस्तरीय सिमेन्ट उत्पादन हुँदै आएको छ । उद्योगमा पर्याप्त चुनढुंगाको भण्डारण रहेको छ ।

नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना गरिएको हेटौंडा सिमेन्टले वि.सं. २०४३ साल मंसिरबाट व्यवसायीक रुपमा उत्पादन सुरु गरिँदै आएको छ ।