सामाजिक सुरक्षा कोषद्वारा ३ अर्ब ७८ करोड दाबी भुक्तानी

काठमाडौं । योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको सामाजिक सुरक्षा कोषले हालसम्म रु पौने ४ अर्ब दाबी भुक्तानी गरेको छ । हालसम्म कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई रु ३ अर्ब ७८ करोड भुक्तानी गरेको हो ।
कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । कोषले २०७६ देखि विभिन्न योजनाको दाबी भुक्तानी गर्दै आएको छ ।
कोषले औषधोपचार सुविधाबापत रु ४४ करोड ५९ लाख ९६ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा सुविधाबापत रु पाँच करोड ४५ लाख १७ हजार, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत रु छ करोड ४६ लाख ६३ हजार र वृद्धावस्था सुरक्षा योजनाबापत रु तीन अर्ब २१ करोड ६५ लाख ७१ हजार दाबी भुक्तानी गरेको जनाइएको छ ।
यस्तै, कोषले ६८ हजार ३६ योगदानकर्तालाई एक लाख छ हजार चार सय ५८ पटक विभिन्न शीर्षकमा दाबी भुक्तानी गरेको छ । कोषमा हालसम्म ३ लाख ९९ हजार १९२ श्रमिक सूचीकृत भएका छन् । सबैभन्दा बढी बागमती प्रदेशबाट ३ लाख ७० हजार २९, कोशीबाट ३८ हजार ८६८, मधेसबाट २१ हजार २४१, गण्डकीबाट १५ हजार २१७, लुम्बिनीबाट १४ हजार ८६, सुदूरपश्चिमबाट एक हजार ५२६ र कर्णालीबाट एक हजार २२५ श्रमिक कोषमा आबद्ध भएका छन् ।
कोषमा १७ हजार ७३४ रोजगारदाता सूचीकृत छन् । हालसम्म रु ३० अर्ब ७९ करोड योगदान रकम सङ्कलन भइसकेको जनाइएको छ ।