डीडीसीले बढायो दूधको मूल्य, प्रतिलिटर कति पुग्यो ?

काठमाडौं । सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा बिहीबारदेखि लागू हुने गरी प्रतिलिटर ११ रुपैयाँले दूधको मुल्य बढाउने निर्णय गरेको संस्थानका महाप्रबन्धक सञ्जिव झाले जानकारी दिए ।
यससँगै अब डीडीसीको दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम गरिएको उनले बताए । सरकारले यसअघि वृद्धि गरेको दूधको किसान मूल्य पनि बुधबार १ चत्रतदेखि लागू गर्ने निर्णय गरिएको उनले बताए । संस्थानका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले डीडीसीले बजारमा बिक्री गर्ने चार प्रकारका प्याकेटको दूधको मूल्य निर्धारण भने संस्थानको बोर्ड बैठक सकिएपछि थाहा हुने बताए ।
हाल संस्थानले स्ट्याण्डर्ड दूध प्रति ५ सय एमएल ४३ रुपैयाँ, फूल क्रिम प्रतिप्याकेट ५७ र गाईको दूधको मूल्य ५१ रुपैयाँ छ । यस्तै लो फ्याट चिया दूधको मूल्य ४० रुपैयाँ रहेको छ ।
गत फागुन १९ मा सरकारले किसानले पाउने दूधको मूल्य बढाउने निर्णय गरेको थियो । ३ प्रतिशत फ्याट ८ एसएनएफयुक्त दूधको किसान मूल्य ५६ रुपैयाँबाट बढाएर सरकारले ६५ रुपैयाँ पुर्याएको थियो । त्यसको एक सातापछि फागुन २५ मा निजी क्षेत्रका डेरीले १४ रुपैयाँ र दुग्धजन्य पदार्थको मूल्य लिटरमा २ सय रुपैयाँसम्मले बढेको थियो ।