बजार क्षेत्रका तार भूमिगत गर्ने हेटौंडा उपमहानगरपालिकाको निर्णय

तु खबर संवाददाता
२०७९ चैत्र १,बुधबार ०९:२९

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रको बाहिर देखिएका तारलाई भूमिगत गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका मंगलबार बसेको उपमहानगरको २० औं कार्यपालिका बैठकले जथाभावी देखिएका तारका कारण बजार क्षेत्रको शौन्दर्यमा कमि आएको भन्दै मुख्य बजार क्षेत्रका तारहरुलाई भूमिगत गर्ने निर्णय गरेको हो ।

बैठकले हेटौंडाको मुख्य बजार क्षेत्रको रुपमा रहेको १, २, ४, १० र ५ को केही भागका पोलमा रहेको तारलाई भूमिगत गर्ने निर्णय भएको हो । तार व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरणलाई कार्यपालिकाको बैठकको निर्णयसँगै सिफारीस पत्र पठाउँने तयारी भएको उपमहानगरले जनाएको छ ।

बैठकले हेटौंडा उपमहानगरलाई उज्यालो शहरको रुपमा विकास गर्नका लागि नगरका बिभिन्न ठाउँमा ‘हाइ मास्ट लाइट’ राख्ने निर्णय गरेको छ । उपमहानगरका १९ वटै वडालाई लक्षित गर्दै लाईटको व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरणसँग छलफल भैरहेको जनाएको छ ।

त्यसको लागि ४० प्रतिशत अनुदान प्राधिकरणले दिने र ६० प्रतिशत लगानी उपमहानगरले गर्ने सहमति भएको उपमहानगरपालिकाको प्रमुख मिनाकुमारी लामाले जानकारी दिइन् ।

पहिलो चरणमा उपमहानगरले हाइ मास्ट लाइटका लागि ६० लाख रुपियाँ बजेट छुट्याएको शहरी पुर्वाधार विकास महाशाखाका प्रमुख सत्यनारायण शाहले बताए । पहिलो चरणमा २५ वटा १० देखी १६ मिटर उचाई भएका लाईटको माग गर्ने तयारी उनले बताए ।