संघीय निजामती सेवा ऐन छिट्टै ल्याउने तयारी

तु खबर संवाददाता
२०७९ फाल्गुन २५,बिहीबार ०८:१८
file-photo

काठमाडौं । सरकारले देशको समग्र निजामती प्रशासन र कर्मचारीको व्यवस्थापन एवम् परिचालन गर्ने ऐन संघीय निजामती सेवा ऐन अब छिट्टै ल्याउने तयारी गरेको छ ।

उक्त ऐन अझै आउन नसकेको भन्दै आलोचना भइरहेको समयमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बुधबार सञ्चारकर्मीहरूसँगको भेटघाटका क्रममा छिट्टै विधेयक संसदमा पेस हुने बताएका छन् ।

२०७५ सालदेखि संसदमा विचाराधीन अवस्थामा रहेको संघीय निजामती सेवा विधेयक अब छिट्टै पारित हुने उनले बताए । मन्त्री मोदीले भने, ‘प्रधानमन्त्रीज्यू पनि यसमा लागिरहनुभएको छ । संघ, प्रदेश र स्थानीय तहमा रहेको निजामती सेवाका आधाभूत सर्त सुविधाको विषयमा यसले सम्बोधन गर्नेछ ।’

यो ऐन जारी नभएका कारण प्रदेश र स्थानीय सरकारले समेत निजामती सेवा ऐन निर्माण गर्न पाएका छैनन् । निजामती कर्मचारीको व्यवस्थापनसमेत गतिशील हुन नसकेको आरोप लाग्दै आएको छ ।