८० हजार लिटर डिजेलमा मिसावट पुष्टि

तु खबर संवाददाता
२०७९ फाल्गुन २१, आईतवार १८:१८

काठमाडौं । भारतको सिलुगडीबाट झापाको चारआली डिजेल ढुवानी गर्ने चार वटा ट्यांकरको डिजेलमा मिसावट पुष्टि भएको छ । नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा रहेको प्रयोगशालामा परीक्षण गर्दा उक्त डिजेलमा मिसावट पुष्टि भएको निगमले जनाएको छ ।

डिजेलको गुणस्तर बिगार्ने गरी मिसावट भएको पुष्टि भएको भएपनि कुन पदार्थ मिसवट भएको हाल नखुलेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

निगमको केन्द्रीय ल्याबको रिर्पोटलाई आधार मानेर निगमले ती डिजेलको गुणस्तर परीक्षण भारतीय आयल कर्पोरेसन (आईओसी) मा गर्ने तयारी भइरहेको उनले बताए । मिसावट पुष्टि भएपछि ४ वटै ट्यांकर र यसका चालक एवम् व्यवसायीलाई कारबाहीको तयारी भइरहेको उपाध्यायले बताए ।

गत १० फागुनमा झापास्थित चारआली कार्यालयमा भारतको सिलिगुडीबाट आएका चार वटा ट्यांकरको डिजेलमा घनत्व कम भएको प्रारम्भिक अनुसन्धानबाट देखिए पछि निगमले अनुसन्धान सुरु गरेको थियो । आईओसीको सिलिगुडी डिपोबाट लोड गरिएको मे।१ ख। २१४९, मे १ ख २१५१, ना ७ ख १५०७ र ना  ७ ख ६९७४ नम्बरको ट्यांकरको डिजेलमा घनत्व कम भएको पाइएको थियो ।

आयल निगमले ८ सय २० देखि ८ सय ५० किलो प्रतिघनमिटर घनत्वलाई मात्रै मान्यता दिन्छ । तर, चारआलीमा भित्रिएका डिजेलमा तल्लो प्यारामिटर भन्दा कम घनत्व रहेको पाइएको थियो ।