बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । शुक्रबार बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोरखा आरुघाट गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने २७ वर्षीय कृष्णबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार, उच्च अदालत पाटनको २०७९ माघ २४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भएका गुरुङ त्यसयता फरार थिए । उनलाई प्रहरीले काठमाडौँको सामाखुसीबाट पक्राउ गरेको हो ।
उनले सिटिजन्स बैंक लिमिटेडको नाममा दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई जिल्ला अदालत ललितपुरको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय नख्खु पठाइएको प्रहरीले जानकारी दिएको छ ।
