अवैध लागूऔषधसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०७९ फाल्गुन १७, बुधबार १०:०७
सांकेतिक तस्बिर

कैलाली । कैलालीको दुई छुट्टाछुट्टै स्थानबाट मंगलबार प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गोदावरी नगरपालिका–९ र गोदावरी नगरपालिका–५ बाट मंगलबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीले गोदावरी नगरपालिका–९ बल्मीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–६ बस्ने २४ वर्षीय जयकिशन चौधरी रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले यूपी २० बीएम ६८०७ नम्बरको भारतीय कार जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, कैलालीको गोदावरी नगरपालिका–५ बिजैरा बस्ने ३२ वर्षीय ओकेन्द्र चौधरी र सोही नगरपालिका–६ भुयरा बस्ने ३१ वर्षीय विष्णु चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुलाई खैरो हेरोइन १ ग्राम ८ सय ३० मिलिग्रामसहित मंगलबार दिउँसो पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले ओकेन्द्रलाई उनकै घर अगाडिबाट करिब २ सय ६० मिलिग्राम र विष्णुलाई आफ्नै घरमा लुकाई छिपाई राखेको १ ग्राम ५ सय ७० मिलिग्राम उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।