मकवानपुरका पाँच जना प्रहरीद्वारा पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न हातहतियार तथा अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर ६ दुम्सीखर्कबाट शुक्रबार राति पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली ६ राउण्ड, भरुवा बन्दुक १ थान, अवैध लागूऔषध गाँजा १ हजार ५ सय १५ केजी र चरेश १३ केजीसहित पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका–६ दुम्सीखर्क बस्ने ७६ वर्षीय जितबहादुर मोक्तान, २८ वर्षीय बिजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शिखर घले रहेका छन् ।
जित बहादुरको घरमा लागूऔषध रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त हातहतियार तथा घर नजिकै रहेको गोठबाट उक्त परिमाणको अवैध लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।