बैंकको मेसिन फोर्ने प्रयास गरेको आरोपमा २ जना पक्राउ

तु खबर संवाददाता
२०७९ फाल्गुन ११, बिहीबार ०९:२७
सांकेतिक तस्बिर

पोखरा । पोखराका विभिन्न बैंकका एटीएम मेसिन फोड्ने प्रयास गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

गएराति करिब १२ बजे पोखरा १०, रामबजारस्थित एनआईसी एसिया बैंक तथा साढे १ बजे पोखरा १५, वनक्याम्पस गेट नजिकै रहेको नेपाल बैंक लिमिटेड र ४ बजे सोही ठाउँकै सांग्रिला विकास बैंकको एटीएम मेसिन फोड्ने प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुरको गाईघाट घर भई हाल पोखरा १७, छोरेपाटन बस्ने २१ वर्षीय सुशील चाम्लिङ राई र लमजुङ घर भई हाल छोरेपाटन बस्दै आएका २१ वर्षीय लुबहादुर गुरुङ ‘अर्जुन’ रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

प्रहरीका अनसार, उनीहरुले एटीएम मेसिन तोडफोड गर्ने उद्देश्यले ढुंगामुढा, सीसीटीभी क्यामेरालाई समेत कागजले छोप्ने प्रयास गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।

उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।