बलात्कार आरोपमा २ जना पक्राउ
काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका–९ घर भई काठमाडौं नागार्जुन नगरपालिका–४ सितापाईला बस्ने ३४ वर्षीय सुरज अधिकारीलाई पक्राउ गरेको छ ।
अधिकारीले ती किशोरीलाई काठमाडौं महानगरपालिका–१५ कारखाना चोकस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरेको हो ।
यस्तै, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्साको ठोरी गाउँपालिका–१ दिपकनगर बस्ने ५९ वर्षीय रामचन्द्र क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
क्षेत्रीले ती किशोरीलाई सोही ठाउँस्थित सिंङगे खोलाको बगरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
