नक्कली नोटसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०७९ फाल्गुन ३, बुधबार ०९:०३
सांकेतिक तस्बिर

बाँके । बाँकेको नेपालगञ्जबाट करिब रु पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना रहेका छन् । नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका तीनै जनालाई मङ्गलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट एक हजारका नक्कली नोट ५६९ थान बरामद गरेको छ । प्रहरीले रानाका साथबाट ४१८ थान नक्कली नेपाली एक हजारको नोट र कुमाइको साथबाट एक सय ५१ थान नक्कली नेपाली एक हजारको नक्कली नोट बरामद गरिएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।