आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस
काठमाडौ । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा–युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् ।
यो दिन प्रेमीप्रेमिकाले एक–अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । आजका दिन प्रेमको प्रतिक मानिने रातो गुलाब दिएर आ–आफुनो प्रेमी–प्रमिकालाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ भन्ने गरिन्छ ।
युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डे लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् ।
भ्यालेन्टाइन डेको रौनक बढेपछि नजिकै भए भेटेर रातो गुलाव तथा मनपर्ने उपहार दिएर प्रेमलाई थप गाढा बनाउने प्रयास गरिन्छ भने टाढा भए नयाँ प्रविधिको सहारा लिएर भ्यालेन्टाइन डे मनाउने चलन छ ।
भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट सुरु भएको हो । सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए । तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे ।
आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए । झुण्ड्नुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका दिएका थिए ।
भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो ।
