समीर पाख्रिनको ‘अनुगमन’ एकाङ्कीमा मञ्चीयता

सञ्जय साह मित्र
२०७९ फाल्गुन १,सोमबार १६:१६

मकवानपुर । हेटौंडाको एउटा कार्यक्रममा मैले समीर पाख्रिनले मसित एउटा सानो परीक्षा लिँदै आफ्नो नाम सोध्नुभयो । मैले नाम बताएँ । उहाँले सम्झना भएको बताउनुभयो । एउटा कृति दिनुभयो । र, भन्नुभयो–यस कृतिको बारेमा कतै दुई शब्द लेखिदिनुहोला ।

लामो समय प्रतीक दैनिकको शनिवारीय अङ्क वाटिकामा स्तम्भ लेख्नुभएका मित्र समीर पाख्रिनको भनाईमा मेरो मनको कुरो पनि लुकेको छ । मैले पढ्ने गरेका सबै त हुँदै होईन तर, अधिकांश कृतिको भने समीक्षा वाचर्चा गर्ने गरेको छु । मेरो दृष्टिमा समीर पाख्रिनको कृतिको पनि समीक्षा छुट्ने थिएन तर पढेर लेख्नुपर्ने हुनाले झन्डै एक वर्षपछि लेख्ने अवसर जुटेको छ ।

तु खबरको यस स्तम्भमा मकवानपुरसित कुनै न कुनै रुपमा सम्बन्धित गराएर कृतिको समीक्षा आउने गरेको छ मेरो । मकवानपुरबाट प्रकाशित, मकवानपुरमा छापिएको, मकवानपुरमा उपहार प्राप्त वा मकवानपुरमा किनेको गरी कुनै पनि तरिकाले मकवानपुर साइनो जोडिएको कृति छ भने मात्र यस स्तम्भमा समीक्षा वा चर्चा लेख्ने गरेको छु ।

शिक्षण पेसा र लेखनको रोग लागेका हामी दुबैको मिलन बिन्दु हुने गरेको वाटिकामा आजभोलि पाख्रिन निकै कम देखिनुहुन्छ तर, म भने अझै आफूलाई नियमित पारिरहेको छु । मैले अग्रज मित्र पाख्रिनलाई नसम्झने त कुरै हुँदैन । अहिले यो परिचर्चा लेखिरहँदा पनि उहाँ मेरो सम्झनामा सल्बलाइरहनु भएको छ । विभिन्न विधाका रचनाहरू विभिन्न माध्यममा फुटकर रूपमा प्रकाशित भएको भएपनि प्रस्तुत कृति ‘अनुगमन’ पाख्रिनको पहिलो पुस्तकाकार सौगात हो ।

साहित्यका सर्जक तथा पाठकबीच पाख्रिन अपरिचित नाम होईन । ‘अनुगमन’ २०७५ माएकाङ्कीकार स्वयम्को खर्चमा प्रकाशित कृति हो । यसमा ‘उज्यालोतिर’, ‘अनुगमन’, ‘अतिक्रमण’, ‘विचलन’, ‘विश्वासघात’, ‘बडीगार्ड’, ‘चक्काजाम’, ‘भूल’, ‘गुरुदक्षिणा’, ‘आदेश’, ‘पश्चात्ताप’ र ‘पूर्वसन्ध्या’ गरी एक दर्जन एकाङ्की सङ्गृहीत छन् । कृतिभित्र समेटिएका रचनाहरूको शीर्षकबाट नै एकाङ्कीहरू सामाजिक विषय वस्तुमा लेखिएका छन् भन्ने स्पष्ट हुन आउँछ । सामाजिक विसङ्गति, विकृति, अन्धविश्वास तथा स्वार्थीपनामाथि प्रहार गरिएका छन् । एकाङ्कीकारले समाजबाट पात्रहरूको चयन गर्नु भएको छ । वर्तमान समाजमा अलिकति पचाउन गाह्रो हुने विषयवस्तु (अश्लीलहोइन) लाई निर्धक्क प्रस्तुत गर्न तथा कसैलाई चोट नपार्न एकाङ्कीकार पाख्रीनले पात्र क, ख, ग, घ, जस्ता प्रतीकात्मक (अनुगमन), वनको विषयवस्तुलाई वन्यजन्तुकै दृष्टिकोणबाट प्रस्तुत गर्न हात्ती, गैंडा, बाँदर, स्याल, बँदेल आदि गैरमानवीय पात्रको चयन गर्नुभएको छ । यसैगरी कतिपय एकाङ्कीमा मूल नामको साटो वय, पेसा, पद, लिङ्गलाई पनि नामको आधार बनाउनु भएको छ ।

पात्रको प्रवृत्तिपनि समाजका सदस्यहरूकै प्रस्तुत गर्नुभएको छ । सामाजिक मनोवृत्ति तथा परिधिलाई राम्ररी समातेर विषयवस्तुको उठान गर्नु भएका एकाङ्कीकार पाख्रिनले सामाजिक समस्यालाई जस्ताको तस्तै समाज समक्ष राख्नु भएको छ । कतिपय अवस्थामा त नाटक होईन, यथार्थ देखिरहेको छु वा पढिरहेको छु भन्ने हुन जान्छ । यो एकाङ्कीकारको वैशिष्ट्य हो । एकाङ्कीको मूल्य र मान्यतालाई अङ्गीकार गर्दै विषयवस्तुलाई प्रस्तुत गर्नुलाई सफलता मानिन्छ । यस अर्थमा एकाङ्कार सफल देखिनु भएको छ ।

एकाङ्कीलाई नाटक विधाको एउटा भेद मानिएको छ । नाटक वा एकाङ्कीलाई साहित्यका अन्य विधाबाट पृथक देखाउने एउटा मुख्य आधार मञ्चीयता हो । यो एकाङ्की रचना हो र यस दृष्टिकोणले यस कृतिका रचनाहरूमा पनि मञ्चीयता हुनु अपरिहार्य छ ।

नाटककार मञ्चीयतामा सचेत देखिनुपर्छ भन्ने मान्यतलाई एकाङ्कीकार पाख्रीनले अङ्गीकार गर्नुभएको छ । प्रस्तुत कृति प्रकाशनमा आउनु पूर्व नै यसमा सङ्कलित कतिपय एकाङ्की विभिन्न ठाउँमा प्रदर्शन भइसकेकाले पनि एकाङ्कीकारले एकाङ्कीको विषय र पात्रको चयन गर्दाको समय नै यसको मञ्चीयता पक्षमा पनि ध्यान दिएका छन् भन्दा अयथार्थ नहोला ।

मञ्चीयतामा स्वैरकाल्पनिक पात्रको उपस्थितिनिकै चुनौतीपूर्ण हुन्छ । एकाङ्की सङ्ग्रहमा सम्वाद योजना अत्यन्त सुन्दर किसिमले गरिएको छ । वन्यजन्तु पात्रहरूले पनि सम्वाद गरेका छन् । मानवीय दृष्टिकोणले हेर्दा वन्यजन्तुले सम्वाद गरेको स्वैरकाल्पनिक हुन जान्छ तर एकाङ्की ‘अतिक्रमण’ मा भने वन्यजन्तुहरूले स्वाभाविक सम्वाद गरेका छन् । वन्तजन्तुहरूको सम्वाद विश्वसनीय नभए पनि एकाङ्कीमा अस्वाभिक लाग्दैन । यसैले यस एकाङ्कीलाई प्रदर्शनमा केही असजिलो हुन सक्छ वा अन्यएकाङ्कीको तुलनामा केही अस्वाभाविक लाग्न सक्छ ।

अन्य एकाङ्कीहरू मञ्चीय देखिन्छन् । मञ्च व्यवस्थापनको लागि एकाङ्कीको प्रारम्भ वा दृश्य परिवर्तन पछि दिनुपर्ने निर्देशन नदिइएको भएपनि एकाङ्कीको पठन गर्दा पनि कतिपय अवस्थामा मञ्चन भइरहेको एकाङ्की हेरिरहेको अनुभूति दिलाउन एकाङ्कीकार सक्षम देखिनु भएको छ । एकाङ्कीका पात्रहरूले गर्ने सम्वाद र सम्वादको क्रममा प्रस्तुत हुने स्वाभाविक हाउभाउलाई कोष्ठकमा दिइएको निर्देशनले एकाङ्कीको मञ्चीय विश्वसनीयतालाई प्रगाढ बनाइएको छ । अधिकांश एकाङ्कीहरू विभिन्न सन्दर्भमा मञ्चन भइसकेकाले यस सङ्ग्रहमा परेकाएकाङ्कीहरू मञ्चीय दृष्टिकोणले उपयुक्त छन् र एकाङ्कीकार आफ्ना रचनालाई मञ्चीयता प्रदान गर्न सचेत देखिनु भएको छ भन्न सकिन्छ ।

प्रस्तुत एकाङ्की सङ्ग्रहमार्फत नेपाली साहित्यमा आफ्नो दरिलो उपस्थिति जनाउन सफल हुन सक्नु भएका समीर पाख्रिनको नेपाली नाटक र मुख्य गरी एकाङ्कीको क्षेत्रमा मुख्य योगदान हुन सक्ने देखिन्छ । झन्डै दुई दशकको शिक्षण पेसाबाट निवृत्त भएर साहित्यसेवामा जुटिरहनु भएकापाख्रीनले अझ राम्रा रचनाहरू नाटक साहित्यलाई दिनुहुने विश्वास गर्न सकिन्छ । प्रस्तुत ‘अनुगमन’ एकाङ्की सङ्ग्रहले पाख्रीनलाई नेपाली साहित्यमा आफ्नो पहिचान बनाउनेमा विश्वस्त हुन सकिन्छ । एक विश्वसनीय एकाङ्कीकारको रूपमा देखिनु भएका पाख्रिनको साहित्यिक जीवनले सफलता पाओस् भन्ने शुभकामना व्यक्त गर्दछु । (मकवानपुरको महक : शृङ्खला १३)