बागमती प्रदेशसभा बैठक आज बस्दै

तु खबर संवाददाता
२०७९ माघ २२, आईतवार ०८:३९

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक आज अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको बैठक बस्न लागेको सचिवालयका प्रमुख सचिव खड्काले बताए ।

प्रदेशसभामा नेपाली कांग्रेसका ३७ जना, नेकपा एमालेका २७ जना, नेकपा माओवादी केन्द्रका २१, नेकपा समाजवादी पार्टीका ७, राप्रपाका १३, नेमकिपाका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना सांसद रहेका छन् ।

सर्वदलीय बैठक बस्दै

साथै आज नै सर्वदलीय बैठक पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ । अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गर्न सर्वदलीय बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव खड्काले बताए ।

उनका अनुसार, सर्वदलीय बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात वटै दलका प्रमुख नेता, सभामुख र उपभामुख, प्रमुख सचिवलगायतको सभागीता हुनेछ ।