हेटौंडामा तीन महिने विद्युत जडान तालिम

तु खबर संवाददाता
२०७९ माघ १६,सोमबार १७:१६

मकवानपुर । लागूऔषधको कुलतमा परी (रिकभरीङ्ग सेन्टर) सुधार केन्द्रमा रहेका युवाहरुलाई लक्षित गर्दै हेटौंडामा तीन महिने विद्युत जडान तालिम सुरु भएको छ ।

लागूऔषधको कुलतमा परेर दैनिक जिवन यापनमा समेत असहज अवस्था आएपछि रिकभरीङ्ग सेन्टर पुगेकालाई सुधार पछि घर फर्कने क्रममा आर्थिक उपार्जनका लागि सहज होस् भन्ने उद्देश्यले उक्त तालिम संचालन गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाको सहयोगमा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र र मकवानपुर रिकभरीङ्ग समुहले संचालन गरेको तालिमको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले उद्घाटन गरेकी हुन् ।

तालिमको उद्घाटन गर्दै नगर प्रमुख लामाले जिवन आफ्नै लागि जिउने हो अरुको लागि सोचेर मानसिक तनाब नलिन सुझाब दिइन् । आफुले सिकेको सीप आफ्नै लागि भए जस्तै आफुले पाएको जिवन पनि आफ्नै लागि भएको बताइन् । विभिन्न खालका मानसिक तनाब बोकेर होइन खुल्ला र खुशीका साथ हिड्नु पर्नेमा जोड दिइन् ।

चिन्ता लिएर हिडेपनि सुख, दुःख आफ्नो/आफ्नो भएको भन्दै तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्दै अघि बढ्न आग्रह गरिन् । नगर प्रमुख लामाले विद्युत जडान तालिममा लागेकालाई रोजगारीको व्यवस्था मिलाउनका लागि उपमहानगरपालिका तयार रहेको बताइन् ।

समुहका अध्यक्ष सुरज बिक्रम राणाको सभाध्यक्षतामा भएको तिन महिने तालिम उद्घाटन कार्यक्रममा हेटौंडा १३ का अध्यक्ष पेम्बा लामा, १४ का अध्यक्ष दिपक खड्का, हेटौंडा–५ का वडा सदस्य रञ्जीता सिलवाल, हेटौंडा उपमहानगरपालिकाका समाजिक बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, गैरसरकारी सस्था महासंघ मकवानपुरका उपाध्यक्ष रमिला सापकोटा, मानब अधिकार संगठनकी सर्मिला श्रेष्ठको आतिथ्यता रहेको थियो ।

तालिममा सुधार केन्द्रमा रहेका ३६ जनामध्ये २० जनाले सहभागिता जनाएका छन् ।