पोखरामा जलेर दुई जना घाइते, एक जनाको अवस्था गम्भीर

पोखरा । पोखरा महानगरपालिका–१३ काहुँखोलामा आइतबार बिहान जलेर २ जना घाइते भएका छन् । घाइते हुनेमा पोखरा महानगरपालिका–१३ काँहुखोलामा स्टेशनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्री र उनी बस्दै आएका घरको घरधनी संगीता सापकोटा जलेर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, जलेका दुई जनामध्ये महिलाको अवस्था गम्भीर छ भने पुरुषको अवस्था सुधारोन्मुख रहेको छ ।
उनीहरुको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । कृष्णबहादुरले संगीताको घरमा स्टेशनरी पसल चलाउँदै आएका थिए । कृष्णबहादुरकी श्रमती र संगीताका श्रीमान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै रहेका छन् । घटनाबारे अनेक अड्कलबाजी भए पनि ठ्याक्कै यकीन भएको छैन ।
प्रहरीका अनुसार, कृष्णले शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्दा घरधनी महिलाले देखेर बोतल खोस्दा उनको शरीरमा पनि पेट्रोल परेको र आगो लागेको हो । घाइते कृष्ण आर्थिक समस्यामा थिए । उनकी श्रीमतीले मादीको ताङतिङमा पढाउँछिन् । कृष्णले प्रहरीलाई आफू आर्थिक समस्यामा रहेको र मर्न पाउनुपर्ने बताएका छन् ।
प्रारम्भिक अनुसन्धानले कृण्ण डिप्रेसनमा रहेको पाइएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।