आफ्नै बुवाको हत्या गरेको आरोपमा एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ माघ १५,आईतवार १०:३९

संखुवासभा । संखुवासभामा आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको भोटखोला गाउँपालिका–५ लुङसुङ बस्ने ७३ वर्षीय गोठे राईको हत्या गरेको आरोपमा उनका छोरा २८ वर्षीय प्रेमकुमार राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घरायसी वादविवादमा प्रेमकुमारले लाठी प्रहार गरी कुटपिट गर्दा गम्भीर घाइते भएका गोठेको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा शनिबार बिहान बाटोमै मृत्यु भएको हो ।

प्रेम कुमारलाई प्रहरी चौकी स्याक्सिलागोलाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।