हेटौंडाबाट चार जना पक्राउ

तु खबर संवाददाता
२०७९ माघ १२,बिहीबार १०:४७
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाको दुई छुटछुट्टै स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ बाट दुई जना र हेटौंडा–१० बाट दुई जनालाई गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले बुधबार हेटौंडा–१ चौकीटोलस्थित तरकारी बजारबाट लागूऔषध नाईट्राभेट ९ पत्ता (२६५ ट्याबलेट) सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर भई हाल महोत्तरी बस्ने १९ वर्षीय समी मुल्लाअन्सारी र उनका साथी पर्सा चिपहरमाई गाउँपालिका–२ बस्ने १९ वर्षीय राजु शर्मा रहेका छन् ।

उनीहरुलाई प्रहरी सहायक हवल्दार उमेश कुमार मण्डलको कमाण्डमा खटिएको पिकेट टोलीले पक्राउ गरेको हो । बुधबार राति साढे ११ बजेको समयमा शंका लागि सोही स्थानमा बसिरहेका समी मुल्लाअन्सारीलाई चेकजाँच गर्दा सो परिणामको लागूऔषध बरामद भएपछि उनीसँगै रहेका राजु शर्मा पनि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

यस्तै, मकवानपुर प्रहरीले आज बिहान हेटौंडा–१० बसपार्कबाट लागूऔषध गाँजा २१ किलोसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवनको राप्ती ननरपालिका वडा नम्वर ९ बस्न अन्दाजी ४० वर्षीया टेकमाया गुरुङ र सोही ठाउँ बस्ने ३१ वर्षीय अस्मिता प्रजा रहेका छन् ।

उनीहरुलाई प्रहरी सहायक निरीक्षक गोकर्ण थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । बिहान ६ः१५ बजेको समयमा हेटौंडा–१०, बसपार्कस्थित सर्लाही जाने बसमा चढ्न लाग्ने क्रममा शंका लागि चेकजाँच गर्दा पछाडी भिर्ने कालो झोलामा लुकाई छिपाई लाँदै गरेको सो परिणामको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।