लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी दर्ता

रुपन्देही । लुम्बिनीमा राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराएका हनु् ।
नागरिक उन्मुक्ति सत्ता गठबन्धनमै भएपनि धेरै मन्त्रालय हात पार्न बार्गेनिङ गरिरहेको छ । त्यसैको फलस्वरुप सत्तारुढ दललाई दबाब दिन उसले उम्मेदवारी दिएको बताइएको छ ।
एमालेका दशौदीको समर्थकमा राप्रपाकी प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठ र प्रस्तावकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोखरेल रहेका छन् ।
आचार्यको प्रस्तावकमा बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी र समर्थकमा लमही नगरपालिकाका मेयर जोखबहादुर चौधरी रहेका छन् ।
रायको उम्मेदवारी दर्ताका लागि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ पनि प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेकी थिइन् । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो ।
उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।