बागमती प्रदेश सरकारले आज पूर्णता पाउने

तु खबर संवाददाता
२०७९ माघ ११,बुधबार ०८:२७
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई पूर्णता दिने निर्णय गरेको हो ।

उक्त बैठकले प्रदेशमा ११ वटा मन्त्रालय कायम गर्ने निर्णय समेत गरेको छ । गत पुस २६ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै मन्त्रालय घटाउने निर्णय गरेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ५ सदस्यीय कार्यदल समेत गठन गरेका थिए ।

प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको संयोजकत्वमा रहेको उक्त कार्यदलले प्रदेशमा कायम रहेको १४ वटा मन्त्रालयलाई घटाएर ११ वटा बनाउन सुझाव दिएको थियो । सोही अनुसार मन्त्रिपरिषदको बैठकले प्रदेशमा ११ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको हो ।

आज सरकारलाई पूर्णता दिन मन्त्रिपरिषदमा ८ जना मन्त्री नियुक्त गरिने उनले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रदेशमा नेकपा एमालेले ५, माओवदीले ४ र राप्रपाले २ वटा मन्त्रालय लिने सहमति भएको छ ।

५ दलको समर्थनमा प्रदेशको मुख्यमन्त्री बनेका जम्कट्टेल नेतृत्वको सरकारमा नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीलाई सहभागी नगराइने भएको छ ।