फागुन २५ गतेभित्रै राष्ट्रपतिको निर्वाचित गर्ने तयारी

तु खबर संवाददाता
२०७९ माघ १०,मंगलवार ०८:३०

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गतेभित्रै राष्ट्रपति निर्वाचन गर्ने तयारी गरेको छ । आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्य पदको निर्वाचन माघ २५मा गर्ने र त्यसपछि फागुन २५ मा राष्ट्रपति निर्वाचन गर्ने गरी तयारी अघि बढाएको हो ।

आयोगले मितिका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग सोमबार छलफलसमेत गरेको छ । प्रमुख आयुक्त दिनेश थपलिया प्रधानमन्त्रीसँग राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सिंहदरबार पुगेका थिए ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य मतदाता हुने संवैधानिक व्यवस्था छ । सोहीअनुसार आयोगले रिक्त स्थानमा उपनिर्वाचन गरेपछि राष्ट्रपति निर्वाचन गर्ने गरी तयारी गरेको हो ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभाका २७५ सदस्य, राष्ट्रियसभाका ५९ सदस्य र र प्रदेशसभाका ५ सय ५० सदस्य गरी कूल ८८४ जना मतदाता हुनेछन् ।