हेटौंडामा हुने महोत्सवमा मकवानपुरगढीमा उत्पादित बालीको प्रदर्शनी हुने
मकवानपुर । हेटौंडामा हुने औद्योगिक व्यापार महोत्सवमा मकवानपुरगढी गाउँपालिकाले स्थानीय एवम् रैथानेबाली कृषि उपज प्रदर्शनी तथा बिक्री स्टल राख्ने भएको छ ।
मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजना कृषि ज्ञान केन्द्र चितवनको सहयोग र विभिन्न सहकारी संस्था, कृषक समूह र कृषकहरुसँगको समन्वयमा प्रदर्शनी तथा बिक्री स्टल राखिने भएको हो ।
मकवानपुरगढी गाउँपालिकाभित्र उत्पादन हुने स्थानीय एवम् रैथानेबालीहरु कोदो, धानकोदो, फापर, सिमी, जुनेलो, सिलाम, अदुवा, बेसार, दलहन, तेलहन, कन्दमुल लगायतका विभिन्न उपजहरु, कृषिमा प्रयोग हुने परम्परागत औजार, सीप तथा कलाहरु प्रदर्शनीमा राखिने गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए ।
उनका अनुसार, स्थानीय उत्पादनहरु कोदोको पिठो, फापरको पिठो, मकैको पिठो, बेसारको धुलो, दुनाटपरी, हस्तकला सामाग्रीहरु पनि बिक्रीमा राखिने भएको हो ।
मकवानपुर उद्योग वाणिज्य संघ, हेटौंडाको आयोजनामा यही माघ ११ देखि २३ गतेसम्म औद्योगिक व्यापार महोत्सव–२०७९ हुँदैछ ।
