बागमती प्रदेशमा ६ महिनामा २ हजार बढी मुद्दा दर्ता

तु खबर संवाददाता
२०७९ माघ ६, शुक्रबार ०९:०३

मकवानपुर । बागमती प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा दुई हजार भन्दा बढी मुद्दा दर्ता भएका छन् । सो अवधिमा प्रदेशको काठमाडौं उपत्यकाको तीन जिल्ला बाहेका १० जिल्लामा २ हजार १५३ वटा मुद्दा दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा सार्वजनिक गरिएको विवरण अनुसार, प्रदेश प्रहरी कार्यालय मातहतका २३ वटा प्रहरी कार्यालयहरुमा उक्त संख्यामा मुद्दा दर्ता भएको हो ।

प्रहरी कार्यालयले विभिन्न अपराधमा संलग्न भएको आरोपमा १ हजार ४ सय ५ जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

उनका अनुसार, फैसला कार्यान्वयनतर्फ प्रहरीले ३ सय ८७ जनालाई पक्राउ गरी ४ करोड ८ लाख ६१ हजार ८ सय ९९ रुपैयाँ जरिवाना संकलन गरेको छ ।

यस्तै, सोही अवधिमा १ लाख २८ हजार ७ सय ५४ वटा सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नियम विपरित चलेका सवारी साधन नियन्त्रणमा लिएर कारबाही गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा परेका उक्त सवारी साधन कारबाहीबाट ११ करोड ३२ लाख ६५ हजार ५ सय रुपैयाँ जरिवाना संकलन गरिएको एसएसपी रेग्मीले जानकारी दिए ।

सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि सवारी साधनको यान्त्रिक परीक्षण अभियान संचालन गरी ५ हजार ५ सय ९४ वटा सवारी साधनको यान्त्रिक परीक्षण गरिएको प्रवक्ता रेग्मीले जानकारी दिए ।