बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले लिए विश्वासको मत

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले विश्वासको मत प्राप्त गरेका हुन् ।
मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा प्रदेशसभाका १०९ सदस्य उपस्थित थिए ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार, मुख्यमन्त्री जम्मकट्टेलले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम अर्थात प्रदेशसभा नियमावलीको पहिलो संशोधन २०७४ को नियम १८३ को उपनियम १ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १०५ मत परेको थियो ।
मुख्यमन्त्री जम्मकट्टेललाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टी गरी ६ वटा दलका सांसदहरुले समर्थन गरेका थिए ।
यस्तै, बैठकमा उपस्थित नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का३ सांसदले भने विपक्षमा मत दिएको सभापति पाठकले बताए ।
प्रदेशसभामा ११० जना सांसद रहेका छन् । अर्को सूचना जारी नभएसम्मको लागि प्रदेशसभा स्थगित भएको सभामुख पाठकले आजको बैठक समापणको घोषणा गरे ।