बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै

तु खबर संवाददाता
२०७९ माघ ३,मंगलवार ०८:४३
file-photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशसभाको आज अपराह्न साढे १२ बजे बस्ने बैठकबाट विश्वासको मत लिने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेश प्रमुख शर्माले गत पुस २५ गते नेपालको संविधानको धारा १६८ को उपधार २ बमोजिम जम्मकट्टेललाई प्रदेशसभाको बहुमतसहितको समर्थन प्राप्त भएअनुसार, प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री जम्मकट्टेलले गत पुस २६ गते ३ सदस्यीय मन्त्रीपरिषद् गठन गर्नुभएलगतै बागमती प्रदेशसभाको सचिवालयमा विश्वासको मत प्राप्त गर्न सिफारिससहित आह्वान गरेका थिए ।

मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशसभा नियमावली २०७४ अनुसार विश्वासको मत विभाजनको लागि आवश्यक प्रकृया तयारी पूरा गरिसकेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

मुख्यमन्त्री जम्मकट्टेललाई प्रदेशसभामा रहेका ७ दलमध्ये ५ दलको समर्थमा बनेको सरकारलाई विश्वासको मत प्राप्त हुने बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

११० जना सदस्य रहेको बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपा १३, नेकपा एकीकृत समाजवादीका ७, नेककिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।