बागमती प्रदेशसभाको बैठक सुरु

तु खबर संवाददाता
२०७९ माघ २, सोमबार १६:१५
file-photo

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । अपराह्न ३ बजेको लागि बोलाइएको प्रदेशसभा बैठक केही घण्टा ढिलो गरी सुरु भएको हो ।

उक्त बैठकमा उपसभामुख निर्वाचन हुने प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

निर्वाचनको लागि विभिन्न दलका तीन जनाले आ–आफ्नो मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेमा तीनै जना महिला रहेका छन् । सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईँले उपसभामुख पदको उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा रहेका छन् ।

यसैगरी, नेपाली कांग्रेसको तर्फबाट सुना परियारले उपसभामुख पदको उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा उत्तम जोशी र समर्थक याङकिला शेर्पा रहेका छन् ।

यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट गीता काफ्लेले उपसभामुख पदको उम्मेदवार दर्ता गराएकी छन् । उनको प्रस्तावकमा सुरेन्द्रराज गोरसाईँ र समर्थकमा सृजना सैजू रहेका छन् ।

११० जना सदस्य रहेको बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समावजादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।