पोखरा विमान दुर्घटना अपडेट : थप एक जनाको शव फेला

तु खबर संवाददाता
२०७९ माघ २,सोमबार १५:५४
file-photo

काठमाडौं । यती एयरलाइन्स प्रालिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनाग्रस्तमा परेर बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ ।

बेपत्तामध्ये पोखरास्थित सेती नदीबाट थप एक जनाको शव निकालिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

दुर्घटनामा परेका ३ जना अझै बेपत्ता छन् । सेतीको पानीमा सशस्त्र प्रहरी बलका गोताखोरले खोजिरहेका छन् । पानीबाट निकालिएको शव सशस्त्र प्रहरीले गण्डकी अस्पतालमा पठाउने तयारी गरिरहेको छ ।

दुर्घटनास्थलमा ३ जना गोताखोरसहित १५ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोली कुरिनटारबाट दुर्घटनास्थलमा पठाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

आइतबार बिहान ७२ जना सवार यति एयरलाइन्सको विमान अन्दाजी ११ः०० बजेको समयमा दुर्घटनाग्रस्त भएको थियो । उक्त विमान बिहान १०ः ३२ मिनेटको समयमा काठमाडौंबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित उडेको थियो ।

पछिल्लो अपडेट अनुसार ६९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।