दुर्घटनामा फरार बससहित चालक मकवानपुर प्रहरीको फन्दामा

मकवानपुर । बिहीबार राती पूर्व–पश्चिम राजमार्गअन्तर्गत् मकवानपुरको मनहरीमा ना ३९ प १४३९ नम्वररको स्कुटरलाई ठक्कर दिई फरार बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले ना ०३–००१ ख २५३६ नम्वरको बससहित बस चालक राम तामाङलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उक्त दुर्घटनामा परेर सवार तीन जनाको मृत्यु भएको थियो । मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरे भलादमी चोकस्थित बिहीबार राति भएको दुर्घटनामा परेर मनहरी–८ सिमपानी बस्ने ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका– ३ लावती बस्ने ३२ वर्षीय रुपेश तामाङको मृत्यु भएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रहरीको नियन्त्रणमा रहेका तामाङलाई आवश्यक अनुसन्धान गरी मृतक परिवारलाई क्षतिपूर्ति दिइने प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।