राक्सिराङको १३ औं गाउँसभा : अर्ध वार्षिक समीक्षा अनुमोदनसहित ७ वटा प्रस्ताव पारित
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको १३ औं गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र चैनपुरमा भएको गाउँसभाबाट अर्ध वार्षिक समीक्षा अनुमोदनसहित ७ वटा प्रस्तावमाथि छलफल भई सर्वसम्मत पारित गरिएको हो ।
कार्यपालिका सदस्यतथा १ नम्वर वडाध्यक्ष बाबिराम मुक्तानले गाउँसभामा चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अनुमोदन सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । मुक्तानले पेश गरेको अर्ध वार्षिक समीक्षासम्बन्धी प्रस्तावमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १४ दशमलव १६ प्रतिशत बजेट खर्च गर्न सफल भएको उल्लेख छ । ४० करोड २९ लाख ४० हजार रुपैयाँको बजेट बनाएको गाउँपालिकाले चालु वर्षको पुस २० गतेसम्ममा ६० लाख ७ हजार रुपैयाँ खर्च गर्न सफल भएको बताइएको छ ।
सभाले न्यायिक समितिको वार्षिक प्रतिवेदनतथा मेलमिलापकर्ताहरुको नाम अनुमोदन गर्ने सम्बन्धी प्रस्तावका साथ संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव पनि सर्वसम्मत पारित गरेको थियो ।
यस्तै, स्थानीय तह संस्थागत स्वमूल्यांकन नतिजामाथि छलफल गर्ने प्रस्तावमाथि पनि आवश्यक छलफल भई पारित गरिएको छ भने उपाध्यक्ष बनस्तम थिङद्वारा प्रस्तुत वार्षिक बजेट तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव पनि पारित गरिएको थियो ।
आकस्मिक कार्यका लागि अधिकार प्रत्यायोजन र हालसम्म भए गरेका निर्णय कार्यहरु अनुमोदन सम्बन्धी प्रस्ताव पनि गाउँसभाबाट सर्वसम्मत स्वीकृत गरिएको छ । साथै आर्थिक वर्ष २०७७/०७८ सम्मको बेरुजु नियमित गर्ने सम्बन्धी प्रस्तावमाथि पनि छलफल भई गाउँसभाबाट सर्वसम्मत स्वीकृत भएको छ ।
गाउँसभाउद्घाटन समारोहकाबीच गाउँपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई पुरस्कृत तथा सम्मानित गरेको थियो । गाउँपालिकाले कार्यालय सहयोगीदेखि समाजसेवीसम्मलाई नगदसहित पुरस्कृत तथा सम्मानित गरेको हो ।
शिक्षातर्फ उत्कृष्ट शिक्षकको रुपमाविश्वलामालाई प्रसंशापत्र दिइएको छ भने उत्कृष्ट विद्यालयतर्फ सूर्योदयमावि राक्सिराङ–३ लाई घोषित गरिएको छ । एसईई परीक्षामा गाउँपालिकामै सर्वोत्कृष्ट अंक ल्याउने छात्रतर्फ सन्तोष घलान र छात्रातर्फ सुप्रिया सुवेदीलाई नगदसहित पुरस्कृत गरिएको छ ।
उत्कृष्ट गैरसरकारी संस्थातर्फ समुन्नत नेपाललाई पुरस्कृत गरिएको छ भने उत्कृष्ट समाजसेवीका रुपमा गाउँपालिकाका अविशेक उप्रेतीलाई सम्मान गरिएको छ । सहकारी संस्थातर्फ राक्सिराङ बहुद्धेश्यीय सहकारी संस्था र कृषि सहकारीतर्फ कुँडुले महिला कृषि सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको छ ।
सराब अग्र्यानिक कृषि फार्म राक्सिराङ– ८ लाई उत्कृष्ट कृष् िाफर्म घोषित गरी गाउँपालिकाले पुरस्कार दियो भने राक्सिराङ ५ कि सरिता स्याङ्बो उत्कृष्ट महिला उद्यमी घोषित भइन् । सामुदायिक वन समूहकातर्फ सिलिङ्गे सामुदायिक वन उपभोक्ता समूह उत्कृष्ट घोषित भयो भने योजना उपभोक्ता समितिमा पार्सिवाङ रिन्चराङ उपभोक्ता समितिलाई पुरस्कृत गरिएको थियो । समृद्धिका लागि एकता टोल राक्सिराङ ८लाई उत्कृष्ट टोल विकास संस्थाको रुपमा पुरस्कृत गरियो भने मेलमिलाप केन्द्रतर्फ राक्सिराङ ३ को मेलमिलाप केन्द्रलाई उत्कृष्ट घोषित गरी थलबहादुर थापा र कविता बललाई पुरस्कृत गरियो ।
स्वास्थ्यकर्मी गणेशकुमार मोक्तान, महिला स्वयम्सेविका विष्णुमाया नगरकोटी वडा सचिव दशरथ गुरागाई, उत्कृष्ट कर्मचारी पासाङ बल लामा, ५ नम्बर वडाका कार्यालय सहयोगी तिर्थ मोक्तानलाई पनि उत्कृष्ट घोषित गरी गाउँपालिकाले पुरस्कार दिएको थियो । राक्सिराङ– ९ स्थायीनिवासी धर्मराज स्याङ्तानले साहित्यमार्फत योगदान गरेको भन्दै गाउँपालिकाले सम्मान प्रदान गरेको थियो ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा गाउँसभाको बन्द सत्र सञ्चालन गरिएको थियो । सभामा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, सभाका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलासहित वडाध्यक्ष, कार्यपालिका सदस्य एवम् वडा सदस्यको सहभागिता रहेको थियो ।
