बागमती प्रदेशसभा : सभामुख निर्वाचनको लागि तीन जनाको उम्मेदवारी दर्ता
मकवानपुर । बागमती प्रदेशसभाको सभामुख पदमा तीन जनाको उम्मेदवारी परेको छ । सभामुख पदको लागि आज बिहान १०ः३० बजेदेखि २ बजेसम्मको लागि तोकिएको समयसीमाभित्र तीन जनाको उम्मेदवारी परेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सभामुख पदका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट सृजना सैजुले एक नम्वरमा उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा गीता काफ्ले र समर्थनमा सुरेन्द्रराज गोरसाईँ रहेका छन् ।
यसैगरी, उम्मेदवारी दिनेमा नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारीले दोस्रो नम्वरमा उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा कुन्दन काफ्ले र समर्थनमा रामकृष्ण चित्रकार रहेका छन् ।
यस्तै, सत्ता गठबन्धनबाट राप्रपाका भुवन कुमार पाठकले उम्मेदवारी दिएका छन् । उनले ३ नम्वरमा उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादी केन्द्रका युवराज दुलाल रहेका छन् ।
निर्वाचनको लागि आज दिउँसो २ः३० देखि ३ः३० बजेसम्म मनोनयन फिर्ताको समय र अपराह्न ४ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची रहेको छ ।
बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ जना, नेकपा एमालेका २७ जना, नेकपा माओवादी केन्द्रका २१ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेपाल मजदुर किसान पार्टीका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना प्रदेशसभाका सदस्यहरु रहेका छन् ।
