फुटबल संघ मकवानपुरद्वारा पिप्ले युवा क्लबलाई ५ लाख रुपैयाँ हस्तान्तरण

तु खबर संवाददाता
२०७९ पुष २७,बुधबार ०९:४१

मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघले पिप्ले युवा क्लबलाई ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । मंगलबार संघका अध्यक्ष टिका लामा, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ लगायतले संयुक्त रुपमा क्लबका अध्यक्ष सुशील घिमिरेलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

संघले गत जेठ महिनामा पिप्ले–क्याम्पा रंगशालामा चौथो स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिता गरेको बापत उक्त रकम हस्तान्तरण गरेको संघका महासचिव छवि सुवेदीले जानकारी दिए ।

गत संस्करणको चौथो स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिताबाट कुल १ करोड ३१ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको थियो भने एक करोड ९ लाख ६७ हजार रुपैयाँ खर्च भएको थियो । प्रतियोगिताबाट २१ लाख ३६ हजार रुपैयाँ बचत भएको थियो ।

पाँचौं संस्करणको स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुनको पहिलो हप्तादेखि गर्ने तयारी भइरहेको मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।