बागमतीका नवनियुक्त मुख्यमन्त्रीद्वारा पदभार ग्रहण, गरे दुई निर्णय

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गरेका छन् । मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै कार्यभार सम्हालेका हुन् ।
मुख्यमन्त्री जम्मकट्टेलले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका थिए ।
उनले पदभार ग्रहण गरे लगत्तै २ वटा निर्णय गरेका छन् । उनले प्रदेशको सुशासनका लागि मन्त्रालयको संख्या घटाउने निर्णय गरेका छन् ।
मुख्यमन्त्री जम्मकट्टेलले मन्त्रालयको संख्या घटाउन प्रदेशका मुख्य सचिव मुकुन्द प्रसाद न्यौपानेको संयोजकत्वमा प्रतिवेदन तयार पार्न समिती गठन गर्ने निर्णय गरेका छन् । उक्त समितीले आगामी १५ दिनभित्रमा प्रतिवेदन तयार पारी पेश गर्नु पर्नेछ ।
त्यस्तै, मुख्यमन्त्री जम्मजट्टेलले पुस मसान्त भित्र संघीय सरकार समक्ष विशेष र समपुरक तर्फको अनुदानका योजनाहरु तयार पारी पठाउने निर्णय गरेका छन् ।
नवनियुक्त मुख्यमन्त्री जम्मकट्टेल यसअघि वि.सं.२०७४ साल माद्धको तेस्रो हप्तामा गठन तत्कालिन मुखयमन्त्री डोरमणि पौडेलको मन्त्रीपरिषदमा आन्तरिक मामिला तथा कानूनमन्त्री र वि.सं. २०७८ साल माघ ११ गते गठित मुख्यमन्त्री राजेन्द्र पाण्डेको मन्त्रीपरिषद्मा उहाँ आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा कार्यभार सम्हाल्दै आएका थिए ।