नेपाल समाजवादी पार्टीले सरकारसँग एकताका लागि वार्ता समिति बनाउने
काठमाडौं । नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि सुरु भएको पार्टीको राजनीतिक समितिको बैठकले सो समिति बनाउने भएको पार्टीका सह–अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए ।
आजको बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको पनि श्रेष्ठले जानकारी दिए ।
उनले बैठकले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारसँग पार्टी एकता गर्नका लागि वार्ता समिति बनाउने र सो समितिलाई माओवादी केन्द्र लगायतका अन्य पार्टीहरूसँग पनि एकता तथा ध्रुवीकरण गर्नका लागि छलफल र प्रयास गर्न अधिकार दिइने स्पष्ट पारे ।
