बागमती गोल्डकप फुटबल प्रतियोगिता आजबाट

तु खबर संवाददाता
२०७९ पुष २४,आईतवार ०९:३८

मकवानपुर । पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिता २०७९ आजबाट सुरु हुँदैछ । आज दिउँसो हुने उद्घाटन खेलमा आयोजक बागमती गाउँपालिका खेलकुद विकास समिति र ए डिभिजन लिगको टिम जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

माघ ३ गतेसम्म जारी रहने प्रतियोगितामा १० टिमको सहभागिता रहेको आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगितामा आयोजक बागमती गाउँपालिका, मकवानपुर–११, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मछिन्द्र फूटबल क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युथ क्लब, जावलाखेल युथ क्लब र अमेरिकी टिम भुट्निज युथ स्पोर्ट्सको सहभागी रहनेछ । प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँनगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, खेलकुद क्षेत्रमा उदाहरणीय काम गर्ने खेल पत्रकारलाई पनि १५ हजार नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा आयोजकले गरेको छ ।

प्रत्येक खेलको म्यान अफ द म्याचले व्यक्तिगत विधाका लागि पाँच हजार नगद सहित आकर्षक पुरस्कार प्रदान गर्नेछ । साथै छ विधामा उत्कृष्ट खेलाडी जनही १० हजार रुपैयाँका दरले पुरस्कृत हुनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब ७१ लाख खर्च लाग्ने आयोजकले जानकारी दिएको छ ।

यसअघि भएको चौथो संस्करणको उपाधि थ्री स्टार क्लबले जितेको थियो । साविक विजेता थ्री स्टार क्लब भने पाँचौं संस्करणको प्रतियोगितामा सहभागी नहुने भएको छ । चौथो संस्करणमा विदेशी टिम क्यामरुनलाई हराउँदै थ्रीस्टारले उपाधि जितेको थियो ।