मकवानपुरमा गुच्चा अड्कीएर ५ वर्षीय बालकको मृत्यु

तु खबर संवाददाता
२०७९ पुष २३, शनिबार १७:११
file photo

मकवानपुर । मकवानपुरको मनहरीमा शुक्रबार साँझ गुच्चा अड्कीएर एक जना बालकको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरेमा गुच्चा अड्कीएर ५ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भारतको जम्भुकटुवा घर भई हाल मनहरीको ज्यामिरेमा सिलौटाको काम गरी बस्ने राम कुमार दासको छोरा राम दास रहेका छन् ।

प्रहरीका अनुसार, मृतक बालकले खेल्ने क्रममा गुच्चा मुखमा अड्काएका थिए । बालकको घाटीमा गुच्चा अड्कीएपछि सास फेर्न असहज भई उपचारको लागि चितवन स्थित भरतपुर सरकारी अस्पतालमा लगिएको थियो ।

अस्पताल पुर्याउने बित्तिकै डाक्टरले बालकलाई मृत घोषणा गरेको हो । बालकको शव अस्पतालमा नै रहेको  बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।