हेटौंडामा युवतीसहित दुई जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ पुष २२, शुक्रबार १९:१७

मकवानपुर । मकवानपुर प्रहरीले दुई छुटछुट्टै घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध खैरोहिरोईनसहित १ जना र भरुवा बन्दुकसहित एक जना गरी दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बिहीबार साँझ हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० न्युरेनीस्थित सडकखण्डबाट लागूऔषध खैरोहिरोईन १८० मिलि ग्रामसहित एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–११ बस्ने २० वर्षीया अनुषा मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, बिहीबार साँझ ६ बजेर १० मिनेटको समयमा शंकास्पद अवस्थामा हिडिरहेका उनलाई चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजालई पक्राउ गरिएको हो ।

यस्तै, प्रहरीले बिहीबार अपराह्न करीव ४ बजेको समयमा विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढी मकवानपुरबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरगढी गाँउपालिका वडा नं. ७ सुकौरा दुम्सी बस्ने ५४ वर्षीय मंगल सिं थिङ रहेका छन् ।

विशेष सूचनाको आधारमा पुगेको प्रहरीले उनको घरकोठामा चेकजाँच गर्दा १ थान अबैध भरुवा बन्दुक फेला परेको हुँदा उनलाई पक्राउ गरिएको जनाइएको छ ।

प्रहरीले दुबै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।