पाँचौं बागमती गोल्डकपको खेल तालिका सार्वजनिक

तु खबर संवाददाता
२०७९ पुष २२,शुक्रबार ०८:४२

मकवानपुर । पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिता २०७९ को खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको उद्घाटन दिन आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले ए डिभिजन लिगको टोली जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा सात ए डिभिजन लिग, एक विदेशी र दुई स्थानीय टोली गरी १० टोलीको सहभागिता रहनेछ । सार्वजनिक तालिका अनुसार, प्रतियोगिताको पहिलो दिन पुस २४ गते आयोजक बागमती गाउँपालिका खेलकुद विकास समिति र जाउलाखेल युथ क्लब ललितपुर, दोस्रो दिन मकवानपुर ११ र नेपाल पुलिस क्लब काठमाडौं, तेस्रो दिन हिमालयन शेर्पा क्लब काठमाडौं र त्रिभुवन आर्मी क्लव काठमाडौं, चौथो दिन मच्छिन्द्र क्लब काठमाडौं र नेपाल ए.पि.एफ क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, प्रतियोगिताको पाँचौ अर्थात पुस २८ मा भुटनिज स्पोर्टस क्लव अमेरिका र पुस २६ गतेको प्रतियोगिताबाट विजेता टिमबीच प्रतिस्पर्धा हुनेछ भने पुस ३० गते चर्चब्वाइज क्लव काठमाडौं र पुस २७ गतेको विजेत टिमबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी, सेमिफाइनल खेल पुस ३० र माघ १ गते हुनेछ भने माघ ३ गते फाइनल खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँनगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, खेलकुद क्षेत्रमा उदाहरणीय काम गर्ने खेल पत्रकारलाई पनि १५ हजार नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा आयोजकले गरेको छ ।

प्रत्येक खेलको म्यान अफ द म्याचले व्यक्तिगत विधाका लागि पाँच हजार नगद सहित आकर्षक पुरस्कार प्रदान गर्नेछ । साथै छ विधामा उत्कृष्ट खेलाडी जनही १० हजार रुपैयाँका दरले पुरस्कृत हुनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब ७१ लाख खर्च लाग्ने आयोजकले जानकारी दिएको छ ।