माओवादीले माग्यो कांग्रेससँग विश्वासको मत

तु खबर संवाददाता
२०७९ पुष २१, बिहीबार १८:१०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा नेपाली काँग्रेससँग विश्वासको मत मागेको छ ।

माओवादीका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवा र अन्य दोस्रो तहका नेताहरूलाई छुट्टाछुट्टै भेटेर विश्वासको मत दिन आग्रह गरेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन र राष्ट्रिय सहमतिको सरकार बनाउनेतर्फ अग्रसर हुन आग्रह गरेका हुन् ।

स्रोतका अनुसार, माओवादी केन्द्रका नेता जनार्दन शर्मा बुधवार देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए । सो क्रममा उनले प्रचण्डलाई विश्वासको मत दिन आग्रह गर्दै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि अग्रसर हुन आग्रह गरेका थिए ।

यसबारे पुष्टि गर्दै नेता शर्माले आफूले प्रचण्डलाई मत दिन कांग्रेस सभापतिलाई आग्रह गरेको बताए । प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते बस्ने संसद बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।